
काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराए । रुपन्देहीबाट प्रदेशसभामा निर्वाचित एमाले नेता गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । गिरीले एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसीलाई बिना विभागीय मन्त्री बनाएका छन् ।
यसैबीच लुम्बिनीका मुख्यमन्त्री गिरीले पदभार ग्रहण गरेसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । हाल लुम्बिनीमा ११ मन्त्रालय छन् ।
उता कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासहित तीन जना मन्त्रीले आजै प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शर्मासहित माओवादी केन्द्रका तर्फबाट मंगल शाही र एमालेबाट विनोद शाहले बिना विभागीय मन्त्रीको शपथ लिएका हुन् । पदभार ग्रहणपछि मुख्यमन्त्री शर्माले पनि मन्त्रालयको संख्या ८ बाट घटाएर सात वटा बनाउनेबारे छलफल गरेका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि आजै प्रदेश प्रमुख देवराज जोशीसमक्ष शपथ लिएका छन् । आजै पदभार सम्हालेका रावलले माओवादी केन्द्रका खगराज भट्ट र एमालेका सन्तोष शर्मा थापालाई बिना विभागीय मन्त्री बनाएका छन्। रावल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले शासकीय सुधारको पहिलो निर्णय गर्दै कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
यसैबीच निर्विरोध निर्वाचित भएपछि प्रदेश एकका प्रदेश प्रमुख बाबुराम गौतमले पथ तथा गोपनीयताको शपथ लिएका छन् । गौतमले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन् ।