स्विडेनको १३औँ विश्वकप यात्रा : रक्षा बलियो, काउन्टर अट्याकमा भरोसा

जेष्ठ २६, २०८३ |अभय बस्नेत
स्विडेनको १३औँ विश्वकप यात्रा : रक्षा बलियो, काउन्टर अट्याकमा भरोसा

काठमाडौं । विश्वकपमा स्विडेन, धेरै सफल राष्ट्र होइन । तर, एउटा शक्ति भने हो । 

घरेलु मैदानमा भएको १९५८ को संस्करणमा त स्विडेन उपविजेतासमेत बनेको छ । यसपटक १३औँ सहभागिताका लागि ऊ तयार छ- बलियो रक्षापङ्क्ति र नवीन काउन्टर अट्याक शैलीसहित । आजको विश्वकप विशेषमा, स्विडेनकै कुरा ।

सन् १९५८ को विश्वकप स्विडेनका लागि अद्वितीय थियो । घरेलु मैदानमा उसले विश्वकप मात्र खेलेन, फाइनलसम्मै पुग्यो । ब्राजिलविरुद्धको अन्तिम तगारो हटाउन नसके पनि स्विडिस समर्थकका लागि यो क्षण अविस्मरणीय बन्यो । यसबाहेक टोलीले सन् १९५० र १९९४ मा तेस्रो स्थान हासिल गर्दै विश्व फुटबलमा आफ्नो बलियो उपस्थिति जनाएको थियो । तर, अघिल्लो विश्वकपमा भने स्विडेन छनोट नै भएन ।

अघिल्लो पटक गुमाएको अवसर १३औँ सहभागितामा सदुपयोग गर्न स्विडेन तयार छ । त्यसो त यसपालि पनि स्विडेनको छनोट निकै नाटकीय रह्यो । सुरुमा छनोट चरणको पुछारमा रहेको जोन डाहल टोमासनको नेतृत्वमा छनोट समूहको पुछारमा थियो । 

तर, नेसन्स लिगको राम्रो वरीयताका कारण प्ले-अफको मौका पाएको स्विडेनले नयाँ प्रशिक्षक ग्राहम पोटरको आगमनपछि युक्रेनलाई ३-१ र पोल्यान्डलाई ३-२ ले हराउँदै उत्तर अमेरिकाको टिकट पक्का गर्‍यो । पोटरको नेतृत्वमा स्विडेनले आफ्नो रक्षात्मक शैलीलाई कायम राख्दै काउन्टर अट्याकमा जोड दिएको छ ।

यस पटक टोलीको लागि आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेस प्रमुख हुन्, जसले प्ले-अफमा ह्याट्रिकसहित महत्त्वपूर्ण गोल गरेका थिए । उनलाई लिभरपुलका एलेक्ज्यान्डर इसाक र न्युकासलका विङ्गर एन्थोनी एलाङ्गाले आक्रमणमा बलियो साथ दिनेछन् । 

रक्षापंक्तिमा कप्तान भिक्टर लिन्डेलोफ र ब्रागाका गुस्ताफ लागरबिएल्केको भूमिका महत्त्वपूर्ण हुनेछ । २०२६ को विश्वकपमा स्विडेन समूह 'एफ' मा छ । उसले आफ्नो पहिलो खेल जुन १४ मा ट्युनिसियाविरुद्ध मोन्टेरेमा खेल्नेछ । जुन २० मा नेदरल्यान्ड्सविरुद्ध र जुन २५ मा जापानविरुद्ध डालासमा अन्तिम खेल खेल्नेछ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।