
बाँके । बाँकेको कोहलपुरमा कोहलपुर नगर विकास समितिको २८ बिघा जमिन खाली गराउने अभियानपछि विस्थापित भएका भूमिहीन तथा सुकुम्वासीहरू अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् ।
उनीहरूले उचित व्यवस्थापनबिना हटाइएको भन्दै स्थायी बसोबास र जीविकोपार्जनको सुनिश्चितता गर्न माग गरेका छन् । कोहलपुर नगर विकास समितिको २८ बिघा जमिनमा बसोबास गर्दै आएका ७ सय ५१ घरपरिवारलाई वैशाख २६ त्यहाँबाट उठाइयो ।
नगरपालिकाले नगर विकास समितिको जग्गा खाली गराउने अभियान चलाएपछि उनीहरूलाई अस्थायीरूपमा नयाँ बसपार्कको टर्मिनल भवन, दीपशिखा आधारभूत विद्यालय र पुरानो बसपार्क लगायतका होल्डिङ सेन्टरमा राखिएको छ ।
होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका अनुसार अस्थायी बसोबासका कारण दैनिक जीवनयापन कठिन बनेको छ। रोजगारी प्रभावित भएको छ भने शिक्षा र स्वास्थ्य सेवामा समेत समस्या देखिएको उनीहरूको गुनासो छ। कोहलपुर नगरपालिकाले भने वास्तविक भूमिहीन तथा दलित सुकुम्वासीको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढिरहेको जनाएको छ।
हाल नयाँ बसपार्क टर्मिनल भवन, दीपशिखा आधारभूत विद्यालय र पुरानो बसपार्कस्थित होल्डिङ सेन्टरमा १ सय १५ घरधुरीका ३१५ जना बसोबास गरिरहेका छन्। नगरपालिकाले व्यवस्थापनको आश्वासन दिए पनि होल्डिङ सेन्टरमा आश्रित परिवारहरू भने आफ्नो भविष्य कहिले सुनिश्चित हुन्छ भन्ने प्रतीक्षामा छन्।
स्थायी बसोबास र जीविकोपार्जनको व्यवस्था हुने अपेक्षासहित उनीहरू दिन बिताइरहेका छन्।