सरकारमा कांग्रेस सहभागी हुँदैन : रामचन्द्र पौडेल

पुस २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकारमा कांग्रेस सहभागी हुँदैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

पृथ्वी जयन्तीको अवसरमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफमा उनले पाँच वर्षभित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को मार्ने गरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न विश्वासको मत दिएको जनाए । उनले नेपाल राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुसी र गौरव भएको जनाए ।

उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरुले मिलेर काम गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले भने ‘अब राष्ट्र बनाउन, राष्ट्र बचाउन राष्ट्रिय एकताको आवश्यकता छ भनेर मैले भन्दै पनि आएको थिएँ । र, त्यहीअनुसारको अभ्यास हामी गर्दै पनि छौं । आज राष्ट्रिय एकता दिवस पनि पर्‍यो ।’

नेपाललाई एकीकरण गरेर हामीलाई नेपाली बन्न अवसर दिने बडामहाराजा पृथ्वीनारायण शाहको जन्मदिवस मनाइरहेको नेता पौडेलको भनाइ छ । ‘यो अत्यन्त खुसी र नेपालीका लागि गौरवको विषय हो । र, यो राष्ट्रिय एकता दिवसमा केवल फर्मालिटी पूरा गर्न मात्रै एकता दिवस मनाउने होइन हामीले साँच्ची नै हाम्रो राष्ट्रलाई एकताबद्ध गरेर राष्ट्रको निर्माण गर्नुछ,’ उनले भने, ‘आज अति दलबन्दी भयो । दलदलकै बीचमा बढता भयो । र, फलानो पार्टीको मान्छे आयो भने अड्डा, अफिसमा पनि मेरो आयो कि अरुको आयो भनेर हेर्ने यो चलन भयो । र, निमुखाले न्यायः विपन्नले आय पाउन सक्ने स्थिति भएको छैन । त्यसका लागि एकताको आवश्यकता छ । सबै मिल्ने हो भने प्रशासन यन्त्रमा पनि अनुशासन हुन्छ ।’

सबैभन्दा पहिला सुशासन, भ्रष्टाचारको उन्मूलन आजको आवश्यकता रहेको नेता पौडेको भनाइ छ । ‘हाम्रो अबको रणनीति मिलेर काम गर्ने हुन्छ । नेपाललाई अब यो पाँच वर्षमा धेरै ठूलो विकासको फड्को मार्ने । हामी सत्तामा नगई तलबाटै सहयोग गर्ने । अहिले सरकारमा जाने कुरा नै छैन । हामी सरकारमा जाँदैनौं । अहिले राष्ट्र निर्माणमै एकता गरेर अघि बढनुपर्छ,’ पौडेलले भने । उनले मुलुकलाई दलदलमा फसाउन नहुने पनि पटकपटक दोहोर्‍याए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement