रामचन्द्र पौडेलले भने- गठबन्धन हाइज्याक भएको थियो, करेक्सन गर्‍यौं

पुस २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
रामचन्द्र पौडेलले भने- गठबन्धन हाइज्याक भएको थियो, करेक्सन गर्‍यौं

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हाइज्याक भएको गठबन्धनलाई नेपाली कांग्रेसले करेक्सन गरेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गरिसकेपछि प्रतिक्रिया दिँदै मंगलबार उनले संविधानको रक्षा र राष्ट्रका लागि सबै शक्ति एकै ठाउँमा उभिएको जनाए । उनले मुलुकको परिस्थिति पेचिलो बन्दै गएकाले सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिनु परेको प्रतिक्रिया दिए ।

व्यवस्था जोगाउन यस ऐतिहासिक घटनामा कांग्रेसले समर्थन गरेको नेता पौडेलको तर्क छ । उनले पाँचदलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताए । उनले संविधानमाथि आइपरेको खतरा बचाउन समर्थन गरेको जनाए ।

पौडेलले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्ति एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए ।

उनले कांग्रेसले कुनैपनि संवैधानिक भाग लिन भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए । उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको दाबी गरे । ‘कांग्रेसले राष्ट्र, व्यवस्थालाई हेरेर संविधान बचाउन संविधानमा आइपरेका विभिन्न खतरालाई समेत हृदयंगम गरेर ७० वर्षसम्म लडेर ल्याएको संविधान बचाउन कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियौं । संविधान बचाउन पाँच दलको गठबन्धन भएको थियो । गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्सन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं,’ उनले भने, ‘यसले देश जनताको भलो गर्छ । राजनीतिक पार्टीहरु एक ठाउँमा छन् । एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जान्छन् । कांग्रेसले कुनै पदको लागि पक्षमा मतदान गरेको होइन । पदको विषयमा भएको भए ओलीले संसद् विघटन गरेका बेला दौडेर निवर्तमानमा जाने थिए । त्यो बेला व्यवस्थाका लागि गरेको हो । मलाई सत्ताभन्दा पनि व्यवस्थाको चिन्ता छ । कांग्रेसले व्यवस्था जोगाउन गरेको अब व्यवस्था जोगिने विश्वास रहेको छ ।’

‘मैले केही दिनअगाडि एउटा कार्यक्रममा भनेको थिएँ । अहिलेको राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको छ । आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आइरहेका छन् । यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम हुनुपर्छ भनेर मैले भनेको थिए । आज त्यहीअनुसार सबै राष्ट्रिय पार्टीहरु र शक्तिहरु मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभएको छ । यो एउटा ऐतिहासिक घटना हो । यसमा मलाई सन्तोष छ ।’

नेता पौडेलले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जानेसमेत बताए । संसद्‌मा उनले कांग्रेसले व्यवस्था जोगाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको दाबी गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.