विश्वासको मत दिन एकीकृत समाजवादी र जसपा सकारात्मक : प्रधानमन्त्री दाहाल

पुस २४, २०७९ |विनय कुमार
विश्वासको मत दिन एकीकृत समाजवादी र जसपा सकारात्मक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सँगको छलफल सकारात्मक रहेको जानकारी दिएका छन् ।

आइतबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफल सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले आफूलाई संसदमा विश्वासको मत दिन दुई अध्यक्षलाई आग्रह गरेको र उक्त आग्रहमा दुवै अध्यक्ष सकारात्मक रहेको छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

सञ्चारकर्मीलाई संक्षिप्त जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

बैठकबाट बाहिरिका एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने प्रतिक्रिया दिन चाहेनन् ।

जसपा अध्यक्ष यादवले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने विषयमा कुनै शंका नरहेको बताए । उनले भने, ‘सरकारलाई हामीले समर्थन गरेका हौँ । विश्वासको मत दिनेमा कुनै शंका छैन ।’

प्रधानमन्त्री दाहालसँगको छलफलपछि बाहिँरिदै गर्दा अध्यक्षद्वय नेपाल र यादवको अनुहार भने मलिन देखिएको थियो ।

सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक बस्नु अघि दाहालले यादव र नेपालसँग छलफल गरेका हुन् । यसलगत्तै बस्ने सत्ता गठबन्धनको बैठकमा संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनका विषयमा छलफल हुने दाहाल निकट नेताले जानकारी दिएका छन् ।

सत्ता गठबन्धनभित्र कुन प्रदेश सरकार कसको नेतृत्वमा गठन हुने भन्नेबारे सहमति जुटिसकेको छैन । प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको एकसाताको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । त्यसले पनि सत्ता गठबन्धनका शीर्ष नेताहरुमाथि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा अगावै सहमति जुटाउनु पर्ने दबाब छ । 


Image

विनय कुमार

कुमार कान्तिपुर टीभीमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement