संसदीय दलको नेता चयनका लागि कुन पार्टीमा कस्तो प्रावधान ?

पुस १, २०७९ |विकास आचार्य
संसदीय दलको नेता चयनका लागि कुन पार्टीमा कस्तो प्रावधान ?

काठमाडौं । संसद्मा सहभागी हुन लागेका १२ मध्ये १० वटा राजनीतिक पार्टीले संसदीय दल गठन गर्ने तरखर गरेका छन् । ती मध्ये सत्ताको नेतृत्व गर्ने तरखर गरेको नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्न आन्तरिक शक्ति संघर्ष चर्को छ । अरूमा भने धेरै आकांक्षी नहुँदा पार्टी नेतृत्वमै रहेकाहरू दलको नेता बन्ने निश्चित जस्तै देखिन्छ । संसदीय दलको नेता चुन्ने प्रावधान कुन पार्टीमा कस्तो छ त ?

राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा कम्तीमा दुई स्थानमा निर्वाचित सांसदको प्रतिनिधित्व गर्ने पार्टीले संसदीय दल गठन गर्ने व्यवस्था छ । यस अनुसार १० वटा पार्टीले संसदीय दल गठन गर्ने छन् । तीमध्ये कुन पार्टीमा कस्तो छ त, दलको नेता बन्ने रस्साकस्सी ?

संसद्को पहिलो दल कांग्रेसमा जो संसदीय दलको नेता हुन्छ, सरकारको नेतृत्व पाउँदा उही प्रधानमन्त्री बन्ने व्यवस्था छ । त्यसैले सभापतिदेखि महामन्त्रीसहित आधा दर्जन नेता आकांक्षी छन् । ८९ सांसद जितेको कांग्रेसमा दलको नेता बन्न ५१ प्रतिशत सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

७८ सिट जितेको दोस्रो ठुलो दल नेकपा एमालेमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने बाध्यता छैन । चुनावअघि नै एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सारेकाले उनको विकल्प देखिन्न ।

संसद्को तेस्रो शक्ति माओवादी केन्द्रसँग ३२ सांसद छन् । प्रधानमन्त्रीका आंकाक्षी पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै दलको नेतामा निर्विकल्प जस्तै हुन् ।

१० सिट जितेको तर समानुपातिकमा तीन प्रतिशत मत कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता नपाएको एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत जस्तै देखिन्छन् ।

२० जना सांसदसहित पहिलो पटक संसद् प्रवेश गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले दलको नेता टुङ्गो लगाउँदै छ । आम निर्वाचन नै नभई दलको नेता छानेको रास्वपाले पार्टी अध्यक्ष रवि लामिछानेलाई अनुमोदन गर्दै छ ।

राप्रपामा बहुमत जुटाउन सक्ने निर्वाचित सांसद मध्येबाट दलको नेता बन्ने प्रावधान छ । राप्रपामा संसदीय नेता बन्ने दौडमा अध्यक्ष राजेन्द्र लिङदेन बाहेक अरु देखिएका छैनन्।

१२ सांसद भएको जनता समाजवादी पार्टीमा बहुमत जुटाउनेले दलको नेता बन्न पाउँछन् । अध्यक्ष उपेन्द्र यादवले चुनाव हारेपछि संघीय परिषद् अध्यक्ष अशोक राईको सम्भावना छ । ४ जना सांसद भएको लोसपामा अध्यक्ष महन्थ ठाकुर, ६ जनाको जनमतबाट अध्यक्ष सीके राउत र ३ सिट जितेको नागरिक उन्मुक्तिबाट अध्यक्ष रन्जिता श्रेष्ठ संसदीय दलको नेता बन्ने तयारीमा छन् । संसद्मा नेतृत्व गर्दै पार्टीको नीति सदनमा पुर्‍याउनु संसदीय दलको नेताको भूमिका हो ।

संसदीय राजनीतिमा दलको नेता बन्नु भनेको अवसर पाए प्रधानमन्त्री बन्न सकिन्छ । यही आकर्षणका कारण सरकार गठनको कसरत चलिरहँदा प्रमुख पार्टीहरूमा संसदीय दलको नेता बन्ने आकांक्षा धेरैलाई छ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।