कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षीको दौडधुप

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षीको दौडधुप

काठमाडौं । चुनावबाट पहिलो दल बनेको नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षीको दौडधुप रोचक देखिन्छ । पार्टीभित्र न छलफल भएको छ न त, संसदीय दलको नेता चयन प्रक्रिया नै अघि बढेको छ । कांग्रेसको विधानमा स‌ंसदीय दलको नेता मात्र प्रधानमन्त्री बन्न सक्ने प्रावधान छ । तर काँग्रेसका नेताहरूले आफूलाई अबको प्रधानमन्त्रीमा दाबी गर्दै विपक्षी दलका नेता भेट्ने र आफू निकटमार्फत सामाजिक सञ्जालमा प्रचार गराउने काम गरिरहेका छन्।

तनहुँबाट चुनाव जितेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटे । पौडेल कांग्रेसबाट प्रधानमन्त्रीका आकांक्षी हुन् । २०७४ को निर्वाचनमा पराजय भोगेपछि पार्टी संसदीय दलको नेताको दौडबाट बाहिरिएका पौडेल यस पटक नतिजा सार्वजनिक हुने बित्तीकै काठमाडौं आए । र, सभापति शेरबहादुर देउवा तथा नेताद्वय शशांक कोइराला र प्रकाशमान सिंहसँग अलग अलग भेट गरे ।

महामन्त्री गगन थापाले चुनावकै बेला नतिजा सकिए लगत्तै संसदीय दलको तयारी थाल्ने भनेका थिए । उनले पनि अहिले भावी प्रधानमन्त्रीका लागि आन्तरिक भेटघाटलाई तीव्रता दिएका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ थापालाई देखिन्छ । २०७४ मा संसदीय दलको नेतामा सभापति देउवासँग पराजित पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनाव जितेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरे । अर्का पूर्वमहामन्त्री शशांक कोइरालाले निर्वाचनको नतिजा आउनासाथ प्रधानमन्त्रीको तयारीमा जुट्ने भनेका थिए । पार्टीको १४ औँ महाधिवेशनमा देउवाबाहेकको समूहको नेतृत्व गरेका शेखर कोइरालाले मुख खोलिसकेका छैनन् ।

संस्थापन समूहबाट भने सभापति देउवा अहिलेसम्म सुविधाजनक बहुमतमा देखिएका छन् । कांग्रेसमा पार्टी संसदीय दलको नेता मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ। पार्टी र सरकार दुबैमा सभापति देउवा पक्ष बलियो छ।

उनी आफै प्रधानमन्त्री बन्ने योजनामा छन् । अहिले चुनाव जितेका र समानुपातिक सुचीबाट सांसद हुनेहरू पनि संस्थापनकै बढी छन् । त्यसरी हेर्दा देउवाको साथ नपाए थापा, पौडेल, सिंह वा कोइराला कसैलाई पनि अब हुने कांग्रेस संसदीय दलको निर्वाचनबाट नेता चुनिन सजिलो छैन । देउवा बाहेकका अरू आकांक्षी एकजुट हुन्छ वा हुन्न त्यसले पनि कांग्रेसमा अब कस्तो समीकरण बन्छ भन्ने अर्थ राख्नेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.