ओली र दाहालबीच टेलिफोन वार्ता, सहकार्य गर्ने एमालेको प्रस्ताव

मंसिर ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
ओली र दाहालबीच टेलिफोन वार्ता, सहकार्य गर्ने एमालेको प्रस्ताव

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा ओलीले दाहाललाई सहकार्यको प्रस्ताव राखेका छन् ।

दुई नेताबीच वार्ता भएको ओली र दाहाल दुवैको सचिवालयले पुष्टि गरेको छ । केपी ओलीले फोन गरेर जितका लागि दाहाललाई बधाइ दिएको र दाहालले पनि बधाइ ज्ञापन गरेको दाहालको सचिवालयले बताएको छ ।

लामो समयदेखि ओली र दाहालबीच सम्बन्ध चिसिएका बेला बिहीबार फोन वार्ता भएको हो । आम निर्वाचनको परिणामले कसैको पनि बहुमत नआउने स्थिति देखिएपछि एमाले र माओवादी अध्यक्षबीच भएको यो फोन वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच पनि वार्ता भएको छ । वार्ताका क्रममा हालको गठबन्धनलाई कायम राखेर अगाडि बढ्नेबारे कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ । 

Enter Kantipur TV HD
Advertisement