गठबन्धन १५ वर्ष टिक्छ : देउवा

मंसिर १, २०७९ |खम्म खत्री
गठबन्धन १५ वर्ष टिक्छ : देउवा

अछाम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन अझै १५ वर्षभन्दा बढी टिक्ने बताएका छन् ।

अछामको चौरपाटीमा आयोजित चुनावीसभा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान रक्षाका लागि पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झाउँदा पनि नमानेको बताए । ‘संविधानको रक्षाका लागि हामीले पटक-पटक ओलीजीलाई सम्झायौं । उहाँले मान्नु भएन । संसद् विघटन गर्नुभयो । ओलीजीले आलोचना पनि सहन सक्नु भएन,’ प्रधानमन्त्री देउवाले भने, ‘बाध्य भएपछि बहुमत पुग्ने गरी अदालत गयौं । अदालतले ओलीजीलाई हटायो । अन्तमा मेरो नेतृत्वमा सबैको सहकार्यमा सरकार निर्माण भयो । अब संविधान रक्षा र स्थायित्वका लागि यो गठबन्धन १०/१५ वर्ष बढी टिक्छ । कम्तीमा ३/४ चुनावमा यो गठबन्धन सहकार्य गर्छ । त्यसका लागि हाम्रा साझा उम्मेदवारले जित्न आवश्यक छ ।’ एमाले अध्यक्ष ओलीले जनताले आवधिक निर्वाचनबाट प्राप्त गरेको संसद चल्न नदिने, पटकपटक विघटन गर्नेजस्ता काम गरेकाले पाँचदलीय गठबन्धन बनेको देउवाले बताए ।

अछामको चौरपाटी र मंगलसेनमा भएको चुनावीसभामा देउवाले कैलाशखोला लघु जलविद्युत् आयोजना, सेती लोकमार्ग, चिसापानी जंगलघाट मंगलसेन सडकखण्ड, रामारोश र खप्तड पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

चुनावीसभामा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, अछाम निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार समाजवादीका नेता शेरबहादुर कुँवर, प्रदेश १ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, प्रदेश १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता अक्कल रावल, प्रदेश २ का उम्मेदवार कांग्रेसका नेता मानबहादुर रावलले चुनावीसभालाई सम्बोधन गरेका थिए ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।