
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरस्थित कञ्चनपुर कारागारभित्र थुनुवा कैदीबीच झैझगडा हुँदा पाँच जना घाइते भएका छन् ।
बुधबार मध्याह्न कारागारमा रहेका ३ सय ७२ जना थुनुवा कैदीमध्ये केहीबीच आपसी विवाद हुँदा होहल्ला, गालीगलौज तथा झैझगडा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनामा घाइते भएका कैदीहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा नगरपालिका-११ का १९ वर्षीय भुवन नाथ, सोही स्थानका २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका-७ का अन्दाजी २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका-८ का अन्दाजी २६ वर्षीय राजु दमाई रहेका छन् ।
उनीहरूमध्ये घरेडी, नाथ र ऐरको टाउकोमा चोट लागि अवस्था मध्यम रहेको छ भने बम र दमाईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी निरीक्षकको कमान्डमा १९ जनाको टोली खटाइएको र कारागारको अवस्था हाल नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।