
महोत्तरी । जिल्लाको जलेश्वर-बर्दिबास सडकखण्डमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको जलेर मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सिमाना, एकडारा-५ स्थित बखरी चोकबाट करिब २०० मिटर उत्तरतर्फ दुईवटा मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा सवार व्यक्तिहरू जलेका हुन्।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा जलेश्वर नगरपालिका-६ का सुभाष दास, सोही स्थानका रवि दास तथा एकडारा गाउँपालिका-३ अजमरपट्टीका अभिषेक मण्डल रहेका छन्। यस्तै दुर्घटनामा जलेश्वर नगरपालिका–६ का रोहित दास, जयकुमार महतो र अभय कापर गम्भीर घाइते भएका छन्। महतो र कापरको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै मोटरसाइकलमा तीन-तीन गरी ६ जना सवार थिए। दुर्घटनापछि स्थानीय र प्रहरीको टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि जलेश्वर प्रादेशिक अस्पताल पुर्याएको थियो। मृतकहरूको शव पोस्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पतालमा राखिएको छ।
दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो वा अन्य कारणले भएको हो भन्नेबारे अझै यकिन भइसकेको छैन। आगलागीको कारणसमेत खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।