जाजरकोटमा करिब ६० रोपनी क्षेत्रफल लगाइएको अफिम नष्ट

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा करिब ६० रोपनी क्षेत्रफल लगाइएको अफिम नष्ट

जाजरकोट । जिल्लामा फैलिँदै गएको अवैध लागूऔषध (अफिम) खेती नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा लगाइएको अवैध अफिम प्रहरीले नष्ट गरेको छ ।

जिल्ला सुरक्षा समिति जाजरकोटका प्रमुख, प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको नेतृत्वमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको सहकार्यमा भेरी नगरपालिका-१ अन्तर्गत मैदे, मैदेचौर, घुईलनेटा र स्याँला क्षेत्रमा करिब ४५ रोपनी क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती फडानी गरी नष्ट गरिएको हो।

यसैगरी, इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमान्डमा खटिएको प्रहरी टोलीले नलगाड नगरपालिका-१ का भरकट्टिया र गैरीखर्क क्षेत्रमा करिब १५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको जनाएको छ।

यस अभियानमार्फत जिल्लामा करिब ६० रोपनी क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.