
काठमाडौं । नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने सहकारीका सञ्चालक तथा व्यवस्थापकलाई धमाधम पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्याका अपराध अनुसन्धान कार्यालयको टोलीले गौतमश्री बहुउदेश्यी सहकारीका व्यवस्थापनक रविन विष्टलाई बुधबार नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ । त्यस्तै गोर्खा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबाबु क्षेत्री, अभिनकुमार राई र कर्णबहादुर राईलाई पनि नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक मनोहर भट्टले जानकारी दिनुभयो ।
थप अनुसन्धानका लागि गौतमश्रीका व्यवस्थापक विष्टलाई अदालतबाट पाँच दिनको म्याद थप गरी काठमाडौं प्रहरी परिसर र अन्यलाई चार दिनको म्याद थप गरी ललितपुर प्रहरी परिसरमा लगिएको छ । प्रक्राउ परेकाहरुका माथि प्रवाह भएको ऋणमा कमशल धितो राखेको, बिना धितो र बैंकमा पहिला नै रोक्का भएको धितोलाई आधार मानि ऋण प्रवाह गरेको आरोप छ ।
प्रहरीका अनुसार गोर्खा सहकारीमा बचतकर्ताको ५ अर्ब ६ करोड भन्दा धेरै अपचलन भएका छ । त्यस्तै गौतम श्री सहकारीमा बचतकर्ताको ५ अर्ब ४ करोड भन्दा धेरै अपचलन भएको प्रहरीले जनाएको छ ।