
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ काउछेमा शुक्रबार दिउँसो भएको आगलागीबाट एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने गोठमा बाँधिएको एक भैंसी जलेर मरेको छ।
स्थानीय धनकला कुमालको घर तथा गोठमा दिउँसो करिब १२ बजेतिर आगलागी भएको हो। आगलागीबाट घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा तथा दैनिक उपयोगका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका हुन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवश बहादुर जिसीका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा आगो धनकला कुमाल आफैंले लगाएको हुन् सक्ने आशंका गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि बल्कोट प्रहरी चौकी, डिभिजन वन कार्यालयको डढेलो नियन्त्रण दस्ता, तथा स्थानीय बासिन्दाहरूको सक्रियतामा नियन्त्रणमा आएको हो। घटनाको जानकारी पाएलगत्तै छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ तथा वडा नं. ३ का अध्यक्ष तेजप्रसाद खनाल घटनास्थलमा पुगेर क्षतिको विवरण लिनुभयाे।
गाउँपालिकाले पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। उक्त घरमा धनकला कुमालका छोरा–बुहारी तथा जेठाजु बसोबास गर्दै आएका थिए।