सिँचाइ कार्यालय दार्चुलाका कर्मचारी सवार जिप दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

चैत्र १७, २०८२ |मनोज बडू
सिँचाइ कार्यालय दार्चुलाका कर्मचारी सवार जिप दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-४ ओसिल कोदेखालामा जिप दुर्घटना भएको छ । 

सिँचाईका कर्मचारी चढेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त जिपमा सवार अन्य चार जना घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार बिहान ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको सु प प्र ०१ -००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब इन्जिनियर मनिषा पाल र अर्का कर्मचारी भरत तितराको घटनास्थलमै ज्यान गएको हो । जिपमा सवार अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा शैल्यशिखर नगरपालिका-४ बस्ने अकबर महर, सोही ठाउँका गाडी शाहु विक्रम महर, चालक प्रकाश ठगुन्ना र मालिकार्जुन गाउँपालिका वडा-५ डाडाकोट बस्ने मिनबहादुर पाल घाइते भएको वडा अध्यक्ष रामसिह ठगुन्नाले जानकारी दिनुभयाे । 

गाेकुलेश्वरस्थित मालिकार्जुन अस्पताल प्रालिमा घाइतेहरूकाे उपचार भइरहेकाे बताइएकाे छ । जिप दुर्घटनाबारे अहिले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।