खोटाङमा बाँदर आतङ्कविरूद्ध किसानको प्रदर्शन, नियन्त्रणको माग गर्दै दिक्तेलमा र्‍याली

चैत्र १६, २०८२ |उत्तम चौलागाईं
खोटाङमा बाँदर आतङ्कविरूद्ध किसानको प्रदर्शन, नियन्त्रणको माग गर्दै दिक्तेलमा र्‍याली

खोटाङ । बाँदरको समस्य हल गर्न माग गर्दै खोटाङका किसानले कृषि औजारसहित दिक्तेल बजारमा विरोध र्‍याली प्रदर्शन गरेका छन् । 

बाँदरपीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न नेपाल सरकारसमक्ष माग गर्दै हलो, जुवा, दाँते र कोदालोसहित सोमबार दिक्तेल बजारमा विरोध र्‍याली प्रदर्शन गरेका हुन् । कृषि औजारसहित विरोधमा उत्रिएका जिल्लाका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पूरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट सुरू भएको विरोध याली त्रिवेणीचोक-भानुचोक हुँदै जिल्ला प्रशासन कार्यालय खोटाङ अगाडि पुगेर टुङ्गिएको थियो । विरोध र्‍याली प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परिवार नियोजनको व्यवस्था गर्न किसानले माग गरेका छन् । 

प्रशासन पुगेका किसानले बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी कँडेलले बाँदर आतङ्कको विषयमा आफूहरू गम्भीर रहेको जानकारी दिनुहुँदै सम्बन्धित निकायमा ज्ञापनपत्र र्पयाएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

गत माघ–२४ गते दिक्तेलमा भएको बाँदरपीडित किसानको भेलाले गरेको निर्णयअनुसार विरोध र्‍याली प्रदर्शनसहित प्रशासन पुगेर बाँदर व्यवस्था गर्न लिखित ज्ञापनपत्र बुझाइएको र खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपनि सरकारले बाँदर नियन्त्रणको भरपर्दो विधि फेला नपरेकाले खोरमा थुन्ने व्यवस्था गर्न माग गरिएको हो ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।