
धनुषा । जनकपुरधामको एक पसलमा आगलगी हुँदा सो पसल पूर्णरूपमा जलेर नष्ट भएको छ।
शनिबार दिउँसो मिल्सएरियास्थित दुर्गा ट्रेडलिन्कमा भएको आगलागीका कारण पसलमा रहेका सबै सामग्रीहरू जलेर नष्ट भएको हो । शनिबार दिउँसो साढे १२ बजेतिर पसल खुलेपनि बिदाको दिन भएकोले पसल बन्द गरेर जाँदा ३ बजे तिर स्थानीयले पसलबाट धुँवाको मुस्लो निस्केको थाहा पाएपछि सटर तोडेर आगो नियन्त्रण गर्ने प्रयास गरिएको थियो ।
पछि जनकपुरधाम उपमहानगरका बारूणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । क्षतिको यकिन नभए पनि फर्निसिङ्ग सामग्रीको होल्सेल भएकोले त्यसभित्र रहेका लगभग ८० प्रतिशतभन्दा बढी सामग्री जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।धनुषा प्रहरीका अनुसार बिजुली सटसर्किटबाट आगलागी भएको जनाइएको छ ।
जनकपुरमा केही वर्ष यतादेखि बिजुली सर्टसर्किटका कारण सातवटा पसलमा आगलागीको घटना भइसकेको छ ।