
पाँचथर । पाँचथरको याङ्बरक गाउँपालिका-२ स्थित मेवाखोलामा निर्माणाधीन पुलमा बाढीले क्षति पुर्याएको छ ।
बाढीले खोलाको सतह गहिरो बनाएपछि पुलका टेका र फर्मा ढल्नुका साथै अन्य संरचनामा पनि क्षति पुगेको हो । मध्यपहाडी राजमार्गमा पर्ने मेवाखोलामा ४० मिटर लामो पुल निर्माण भइरहेको थियो । २०८१ असो १२ गते आएको बाढीले यहाँको पुल बगाएपछि नयाँ पुल निर्माणको काम अघि बढाइएको थियो ।
मध्यपहाडी राजमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सञ्जय मिश्रका अनुसार करिब ९० प्रतिशत काम सकिएको पुल भत्किएको हो । ७ करोड ७६ लाख रुपैयाँ लागतमा सरोज निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको उक्त पुल चैत २ गते ढलान भएको थियो ।
यसैगरी ताप्लेजुङको नेरुवा खोलामा निर्माणाधीन ३५ मिटर लामो पुल पनि बाढीले भत्काएको छ । सो पनि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । नेरुवा खोलाको पुल ७ करोड ४७ लाख रुपैयाँ लागतमा सञ्जीव निर्माण सेवाले निर्माण गरिरहेको थियो ।