
कास्की । ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरमा रहेको एक होटलमा आगलागी भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने आधार शिविरमा रहेको पिसफुल लज एन्ड रेष्टुरेन्टमा मंगलबार बेलुका साढे चार बजे तिर आगलागी भएको हो । स्थानीय ज्ञान बहादुर गुरूङ, मिन बहादुर, सुक बहादुर गुरूङ र कर्ण गुरूङले उक्त होटल सञ्चालन गर्दै आएका थिए ।
हिउँले पूरै ढाकिएको होटलको भित्रि भाग जलेको छ भने खाद्यन्न, भाडाकुडाँसहित ९ वटा पर्यटकस्तरीय कोठा पूर्ण रुपमा जलेको स्थानीय मिकास गुरूङले जानकारी दिनुभयो । सिलिन्डर ग्यास लिक भई आगलागी भएको उहाँको भनाइ छ । आगलागी हुँदा होटलमा विदेशी पर्यटक पनि रहेको र भाग्न सफल भएको उहाँले बताउनुभयो ।
होटलमा लागेको आगो स्थानीय र पर्यटकले आगो नियन्त्रणमा लिएका थिए । आगलागीमा परि विदेशी पर्यटकको मोबाइल र क्यामरा समेत जलेको छ । आगलागीबाट एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । त्यस क्षेत्रमा तीन दिनदेखि मोबाइल नेटवर्क अवरूद्व छ ।
अन्नपूर्ण आधार शिविरमा ६ वटा होटल सञ्चालनमा छन् । अहिले पर्यटक लागि सिजन चलिरहेको छ । पदयात्राका लागि उत्तम मानिने अन्नपूर्ण पदमार्गमा दैनिक करिब दुई सय जना पर्यटक आधार शिविर पुग्छन् ।