सिरहाका स्थानीय तहले एसईई मोडलमा लिइरहेछ कक्षा ८ को परीक्षा

चैत्र ११, २०८२ |विनय आजाद
सिरहाका स्थानीय तहले एसईई मोडलमा लिइरहेछ कक्षा ८ को परीक्षा

सिरहा । मिर्चैया नगरपालिका-७ स्थित श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयको तीनतले भवनका कक्षा कोठाभित्र फरक फरक विद्यालयका फरक फरक किसिमका ड्रेस लगाएका विद्यार्थी छन् ।

प्रत्येक कक्षा कोठाका एउटा बेन्चमा मात्र दुई जना बसेका छन् । छेउमा प्रश्नपत्र राखेर कापीमा धमाधम उत्तर लेखिरहेका छन् । झट्ट हेर्दा एसईई वा अन्य परीक्षाजस्तो लाग्ने, तर मिर्चैया नगरपालिकाले लिइरहेको कक्षा ८ को परीक्षा हो यो ।

मिर्चैया नगरपालिकाले विगत तीन वर्षदेखि यसैगरी कक्षा ८ को पालिका स्तरीय परीक्षा लिइरहेको छ । यसपालिको परीक्षामा नगरका निजी र सामुदायिक गरी २८ विद्यालयका १२ सय ११ विद्यार्थी सहभागी छन् । यसका लागि मिर्चैयास्थित मोहन माध्यमिक विद्यालय, मिर्चैया नगरपालिका-७ फुलबरियास्थित बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालय, मिर्चैया-१ रामपुर विर्तास्थित शारदा माध्यमिक विद्यालय, मिर्चैया-२ मल्हनियाँ खोरीस्थित आधारभूत विद्यालयलाई परीक्षा केन्द्र बनाइएको छ ।

कक्षा ८ को सातवटा विषयका लागि मिर्चैया नगरपालिकामा ६ गतेदेखि सुरू भएको परीक्षा १५ गतेसम्म चल्नेछ । परीक्षाका लागि प्रश्नपत्र पालिकाले आफैं बनाएको छ भने परीक्षा २ घण्टाको हुन्छ । परीक्षालाई मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि नगरपालिकाले हरेक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरेको छ । यस्तै, परीक्षा अनुगमन टोलीले अनुगमनसमेत गर्ने गरेको छ ।

यसपालिदेखि कल्याणपुर नगरपालिकाले पनि पालिका स्तरीय परीक्षा लिन सुरू गरेको कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले बताउनुभयाे । कर्जन्हा नगरपालिकालगायतले पनि यसपल्टदेखि यो अभ्यास सुरू गरेको छ । यो परीक्षा प्रणालीले नगरको समग्र शैक्षिक नतिजामा सुधार ल्याएको मिर्चैयाका नगर प्रमुख श्रवणकुमार यादव बताउनुहुन्छ । यसअघिसम्म विद्यालयले पनि बदमासी गर्ने गरेको र विद्यार्थीमा पनि नपढ्ने प्रवृत्ति रहेकोमा त्यो अन्त्य हुँदै गएको उहाँले बताउनुभयाे ।

'यसअघिसम्म कतिपय विद्यालयले बदमासी पनि गर्थे, विद्यार्थीमासमेत नपढे पनि पास भइहाल्ने मानसिकता बनेको थियो,' उहाँले भन्नुभयाे, 'तर, यसरी परीक्षा लिन सुरू गरेपछि अब पढ्नुपर्छ भन्ने भएको छ, विद्यालयहरूमा राम्रो नतिजा दिनुपर्ने दबाब बनेको छ ।'

यतिमात्र नभई यसरी परीक्षा लिँदा विद्यार्थीहरूलाई अझ परिपक्व हुन मद्दत पुगेको अनुभव भएको मिर्चैया नगरपालिकाका शिक्षा शाखा प्रमुख भरत बानियाँ सुनाउनुहुन्छ । 'कक्षा ८ का विद्यार्थी त कलिला हुन्छन्,' उहाँ भन्नुहुन्छ, 'आफूले पढ्ने विद्यालयभन्दा फरक विद्यालयमा गएर यसरी एसईईजस्तै परीक्षा दिँदा उनीहरूमा अझै परिपक्वता आएको छ ।'


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।