महोत्तरीमा रेबिज खोपमाथि प्रश्न : खोप लगाएपछि पनि गाई मर्न थाले

चैत्र १०, २०८२ |विकास आर्या
महोत्तरीमा रेबिज खोपमाथि प्रश्न : खोप लगाएपछि पनि गाई मर्न थाले

महोत्तरी । महोत्तरीस्थित जलेश्वर भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा लगाइएको रेबिज खाेपले काम नगरेपछि गाईहरू रेबिज लागेर मर्न थालेका छ्न् ।

महोत्तरीको मनरा शिसवा नगरपालिका–१० निवासी मनोज पाण्डेको घरपालुवा गाईलाई फागुन २७ गते कुकुरले टोकेको थियो। तत्कालै उनले जलेश्वरस्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा जानकारी गराएपछि प्राविधिक टोली पुगेर रेबिजविरूद्धको खोप लगाएको थियो। तर, उपचारपछि पनि चैत ८ गते गाईको मृत्यु भएको नगरपालिकाका पशु प्राविधिक राजु झाले बताउनुभयाे।

यस्तै, जलेश्वर नगरपालिका–१० सारीका दिनेश ठाकुरको गाईलाई फागुन २३ गते राति कुकुरले टोकेको थियो। ठाकुरले अस्पताल प्रसाशनलाई जानकारी गराएपछि प्राविधिक टोलीले खोप लगाएको थियो। पाँच डोजमध्ये चार डोज लगाइसक्दा पनि गाईमा रेबिजको लक्षण देखिन थालेपछि उनले अस्पतालले गलत खोप प्रयोग गरेको आरोप लगाउनुभएकाे छ।

पशुपालक कृषक दिनेश ठाकुरले समयमै जानकारी गराउँदा पनि उपचार प्रभावकारी नभएको र प्रयोग गरिएको खोपमा समस्या भएको दाबी गर्नुभयाे। उहाँले सम्बन्धित निकायको लापरबाहीका कारण गाईहरू मृत्युको मुखमा पुगेको बताउनुभयाे।

सेवानिवृत्त पशु चिकित्सक सिया प्रसाद भगतका अनुसार कुकुरले टोकेको २४ घन्टाभित्र सही मात्रामा रेबिजविरूद्धको खोप लगाउनुपर्छ। साथै खोपको भण्डारण (फ्रिजिङ) सही नभएमा वा म्याद गुज्रिएको औषधि प्रयोग भएमा उपचार प्रभावकारी नहुन सक्ने उहाँले बताउनुभयाे।

यस विषयमा जलेश्वर भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कमरूदिन अन्सारीले केही पनि बोल्न मान्नुभएन । महोत्तरीमा कति पशु चौपायाको मृत्यु भएको कार्यालयसँग कुनै तथ्यांक छैन । महोत्तरीमा कुकुरले मानिस तथा अन्य जनावरलाई टोक्ने घटना बढ्दै गएपछि समुदायमा त्रास फैलिएको छ। विज्ञहरूले (रेबिज संक्रमित) कुकुरबाट सचेत रहन र समयमै उपचार गराउन आग्रह गरेका छन्।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।