बागलुङका तीनवटा बैंकमा एक हजार रूपैयाँको नक्कली नोट फेला

चैत्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागलुङका तीनवटा बैंकमा एक हजार रूपैयाँको नक्कली नोट फेला

बागलुङ । बागलुङका तीनवटा बैंकमा एक हजार रूपैयाँको नक्कली नोट फेला परेका छन् । 

सदरमुकाममा रहेका नेपाल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकमा एक हजार रूपैयाँका नक्कली नोट फेला परेका हुन् । तीनवटै बैंकमा एउटै नम्बरका तीन थान एक हजार रूपैयाँका नक्कली नोट फेला परेको नेपाल बैंक बागलुङ शाखाका प्रमुख कृष्णबहादुर कुवँरले जानकारी दिनभयो । 

व्यापारीले बैंकमा रकम जम्मा गर्न ल्याएको हजारका नोटको बन्डलबाट नक्कली नोट फेला परेको कुँवरले बताउनुभयो । तीनवटै नक्कली नोट जफत गरी राष्ट्र बैंकमा जानकारी गराइएको छ। नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फूल, स्टिकर र सुरक्षात्मक चिन्ह नरहेको बैंकले जनाएको छ । 

सामान खरिद बिक्री कारोबारकै क्रममा व्यापारीकोमा नक्कली नोट आएको हुन सक्ने उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार श्रेष्ठले बताउनुभयो । बजारमा नक्कली नोट फेला पर्न थालेपछि सर्वसाधारण तथा व्यापारी सतर्क हुन थालेका छन् । नक्कली नोटबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.