खेलकुदलाई निजी क्षेत्रसँग जोड्ने नीति प्राथमिकतामा

पूर्वाधार र राष्ट्रिय आयोजनाबारे मौनता
वैशाख २८, २०८३ |विनयज्योति सापकोटा
खेलकुदलाई निजी क्षेत्रसँग जोड्ने नीति प्राथमिकतामा

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई निजी क्षेत्रसँग जोड्न विषयले प्राथमिकता पाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा खेलकुदलाई अन्य क्षेत्रसँग जोड्ने विषयलाई जोड दिइएको छ। खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

त्यसैगरी, खेलको व्यावसायिकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने विषय समेटिएको छ। यो नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणको कुरा उल्लेख गरिएको छैन भने संघ र प्रदेशका खेलकुदको सहकार्यका विषयमा मौन छ। 

राष्ट्रिय खेलकुद आयोजनाको विषयमा पनि नीति तथा कार्यक्रमले कुनै जानकारी दिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा पाँच बुँदामा पूर्वाधारदेखि खेलाडीको वृत्तिविकास समेटिए पनि अहिलेको नीति तथा कार्यक्रममा सो विषय छैन।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।