
काठमाडौं । अमेरिका र स्कटल्यान्डसँगको एकदिवसीय अभ्यास सिरिज नेपाल ए ले क्लिन स्विप गरेको छ।
मुलपानी क्रिकेट मैदानमा साेमबार सम्पन्न सिरिजको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई ७ रनले हराउँदै सिरिज क्लिन स्विप गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गर्न सकेन। ओपनर तृतराज दास र अनिलकुमार साह समान नौ-नौ रनमा बाहिरिए।
त्यसैगरी तेस्रो नम्बरका मयन यादवले ३७ बलमा २४ रनको योगदान गरेका थिए । उनले सन्दीप जोरासँग ५१ रनको साझेदारी गरे। एक सय १५ बलको सामना गरेका सन्दीपले भने एक सय ११ रनको योगदान गरेका थिए। उनले नौ चौका र चार छक्का प्रहार गरेका थिए।
बासिर अहमदले ३८ रन बनाउँदा सन्दीपसँग ९९ रनको सानदार साझेदारी गरेका थिए। मोहम्मद वासिमले यो साझेदारी तोडे पनि नेपाल बलियो अवस्थामा पुगिसकेको थियो। अन्तिममा पवन सर्राफले २० रनको योगदान गरे। नेपाल एक बल बाँकी रहँदा नै सम्पूर्ण विकेट गुमाएर दुई सय ६४ रनमा बाहिरिएको थियो ।
अमेरिकाका सौरभ नेत्राभल्करले तीन विकेट लिए भने जसदीप सिंहले २ विकेट आत्मसाथ गरे। जवाफमा अमेरिका पाँच बाँकी रहँदै सबै विकेट गुमाएर दुई सय ५७ रनमा समेटिएपछि नेपाल विजयी भएको हो। अमेरिकाविरुद्धको जितमा नेपालका शेर मल्लले चार विकेट लिएका थिए।
अमेरिकी ओपनर समित पटेल ३३ रनमा आउट भए भने सायन जहाँगीरले ४१ रनको योगदान गरेका थिए। उनीहरुले ४४ रनको ओपनिङ साझेदारी गरेका थिए। मध्यक्रममा सेहन जयसूर्याले ७१ रनको विस्फोटक इनिङ्स खेलेका थिए। अर्को एन्डमा उनलाई सुभम रञ्जानेले ४७ रन बनाएर साथ दिए।
उनीहरुले ७९ रनको साझेदारी गरेर टिमलाई बलियो अवस्थामा पुर्याउँदा बसिरले साझेदारी तोडेका हुन्। त्यसपछि शेर मल्लले लगातार विकेट लिएपछि अमेरिका जित नजिक पुगेर पनि पराजित भएको हो। नेपालले सिरिजका चार खेलमा शतप्रतिशत जित निकालेको हो।
नेपाल एले अमेरिकाविरुद्धको यसअघिको खेल तीन विकेटले जितेको थियो। स्कटल्यान्डसँगका दुई खेलमध्ये पहिलो खेलमा ४५ रन र दोस्रो खेलमा डीएलएस पद्धतिमा नौ रनले विजयी भएको थियो।