अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

माघ २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षका पछिल्ला छ महिनामा दुई हजार ५२५ वटा उजुरी दर्ता भएकामा धनुषाका ७८० उजुरी छन् । 

प्रदेश राजधानी रहेको यस जिल्लामा १८ वटा पालिका रहेका छन् । कार्यालयका उपसचिव प्रकाश पोखरेलले दर्ता भएका उजुरीमध्ये ८१२ वटा उजुरी फर्छ्यौट भएका र एक हजार ७१३ उजुरी छानबिनको क्रममा रहेका बताउनुभयो । 

उहाँका अनुसार दर्ता भएका उजुरीमध्ये ७२ दशमलव ६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छ । जिल्लागत रूपमा सबैभन्दा बढी धनुषाका ७८०, महोत्तरीका ५१४, सिरहाका ४८१, सर्लाहीका ३९७ र सबैभन्दा कम सोलुखुम्बू जिल्लाका ३९ वटा उजुरी दर्ता भएका छन् । 

आयोगमा दर्ता भएका उजुरीहरूको ‘स्क्रिनिङ’ गरी प्रारम्भिक तथा विस्तृत छानबिनमार्फत तामेली गर्ने, आवश्यक कारबाहीका लागि लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाउने गरिएको उपसचिव पोखरेलले बताउनुभयो । “चालु आवका छ महिनामा ६०५ उजुरी तामेली, १० वटा सुझावसहित तामेली, ७९ मा आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ । 

यसैगरी ११८ उजुरी एकीकरण गरिएको छ”, उहाँले भन्नुभयो । आयोगको बर्दिवास क्षेत्रीय कार्यालयअन्तर्गत मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू, बागमती प्रदेशका सिन्धुली र रामेछाप पर्दछन् । 

मधेसका रौतहट, बारा र पर्सा आयोगको कार्यालय हेटौँडामा तथा सप्तरी इटहरीको कार्यालयको क्षेत्राधिकारमा पर्ने गरेको छ । आयोगको बर्दिवास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रण गर्न आयोग सदाचार, निष्पक्षता र निर्भिकताका साथ काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.