
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट फरार भएका कैदी काठमाडौं गोकर्णेश्वरबाट ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
सशस्त्र नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष ड्युटी टोलीले विशेष सूचनाको आधारमा फरार कैदीको खोजी गर्ने क्रममा मंगलबार काठमाडौं गोकर्णेश्वरबाट उनलाई लागूऔषधसहित पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा करिब ३१ वर्षका डिल्ली बहादुर कटुवाल रहेका छन्। उनलाई जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट फरार भएको अवस्थामा पुनः पक्राउ गरिएको हो। सप्रबल नेपाल इन्टेलिजेन्स ब्युरोका अनुसार कटुवाल यसअघि पनि २९ ग्राम लागूऔषध ब्राउन सुगरसहित साउन २७ गते बानेश्वर क्षेत्रबाट पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएका व्यक्ति हुन्। त्यसपछि उनी प्रहरी नियन्त्रणबाट फरार भएका थिए।
हालको कारबाहीका क्रममा कटुवालको साथबाट ६ ग्राम ६५ मिलिग्राम (प्लास्टिकसहित) लागूऔषध ब्राउन सुगर, तौल मेसिन थान–१, मोबाइल थान–१, प्रिगाभा चक्की २ वटा तथा नेपाली नगद रू पाँच हजार बरामद गरिएको छ। पक्राउ परेका कटुवाललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी प्रभाग सुनदरीजलमा बुझाउने कार्य भइरहेको सप्रबल नेपाल इन्टेलिजेन्स ब्युरोका सह-प्रवक्ता सप्रनाउ शैलेन्द्र थापाले जानकारी दिनु भयो ।