पेस्तोल र भरूवा बन्दुकसहित दुई पक्राउ

माघ २७, २०८२ |सुशीला पाठक
पेस्तोल र भरूवा बन्दुकसहित दुई पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट पेस्तोल र भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका- २ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा-३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दुवै जनालाई सोमबार पक्राउ गरेको हो । लिम्बूको घरमा हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले घर खानतलासी गर्ने क्रममा लिम्बू सुत्ने कोठाभित्र मेड इन यूएसए लेखिएको पेस्तोल, एउटा भरूवा बन्दुक र दुई थान हेन्डसेट फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो। सोधपुछका क्रममा लिम्बूले उक्त हतियार गुरुङबाट लिएको बताएका थिए ।

त्यसलगत्तै प्रहरीले गुरुङलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । उनीहरूले हतियार कहाँबाट र के प्रयोजनका लागि ल्याएका हुन् भनेर यकिन हुन बाँकी रहेको डीएसपी चौधरीले बताउनु भयो।

पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।