दार्चुलामा प्रहरी हवल्दारसहित दुई जनाको शङ्कास्पद मृत्यु, चार जना नियन्त्रणमा

माघ २७, २०८२ |मनोज बडू
दार्चुलामा प्रहरी हवल्दारसहित दुई जनाको शङ्कास्पद मृत्यु, चार जना नियन्त्रणमा

दार्चुला । दार्चुलामा प्रहरी हवल्दारसहित दुई जनाको हत्या भएको छ । 

प्रहरी हवल्दारको सदरमुकाम खलंगा बजारको बङ्गाबगर बजार क्षेत्रमा रातिको समयमा हत्या भएको प्रहरीले आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सामुदायिक प्रहरी बङ्गाबगरमा कार्यरत प्रहरी हवल्दार अन्दाजी ४० वर्षीया योगेन्द्रसिंह घर्ती तल्लो बङ्गाबगर बजारस्थित एक होटलको घर पछाडि मृत्त अवस्थामा फेला परेका थिए । 

घटना सोमबार रातिको समयमा घटेको आशंका गरिएको दार्चुला प्रहरीका सूचना अधिकारी हेमराज भट्टले बताउनुभयाे । महाकाली नगरपालिका–४ का स्थानीय समेत रहेका प्रहरी हवल्दार घर्ती टाउकोमा ४-५ वटा ठुलो घाउहरु रहेका छन् । उनको चक्कु प्रहारबाट मृत्यु भएको हुन सक्ने वडा नम्बर ४ वडाध्यक्ष जगतराम चुनाराले आशंका गर्नुभयाे । 

अहिले प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल लगिएको छ । प्रहरी हवल्दारको हत्या आशंका गरिएकाले प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न आशङ्कामा सोधपुछको लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै दार्चुलामा एक वृद्धा महिला आफ्नै घरमा मृत फेला परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–८ देवलका ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा एक्लै बस्दै आएकी एकल महिला मृत फेला परेकी छिन् । घटनास्थलमा प्रहरी निरीक्षक निरजसिंह भाट सहितको टोली खटिएको छ ।

घरमा एक्लै बस्ने वृद्धा जोशीको शव शङ्कास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत फेला परेकी जोशीको हत्यापछि सुनका गरगहना लुटपाट गरिएको हत्याको आशंका गरिएको छ ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।