घरबाट बेपत्ता भएकी वृद्धा महिला मृत अवस्थामा फेला, हत्याको आशंका

माघ १६, २०८२ |विकास आर्या
घरबाट बेपत्ता भएकी वृद्धा महिला मृत अवस्थामा फेला, हत्याको आशंका

महोत्तरी । महोत्तरीमा आफ्नै घरमा सुतिरहेकै अवस्थाबाट बेपत्ता भएकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् । 

दुई दिनअघि घरबाटै बेपत्ता भएकी महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरकी ७३ वर्षीया रासो देवी यादवको शव निवस्त्र अवस्थामा फेला परेको हो । यही माघ १४ गते राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएको उनका छोरा हरी यादवले जानकारी दिए । परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा घर अगाडिकै उखु बारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । यद्यपि, घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन । शव परिक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।