संखुवासभामा जिप दुर्घटना : दुईको मृत्यु, तीन घाइते

मृतक मध्ये एक जनाको पहिचान खुल्यो
माघ ११, २०८२ |दीपेन्द्र शाक्य
संखुवासभामा जिप दुर्घटना : दुईको मृत्यु, तीन घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप आइतबार नुनढाकी नजिक दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ।

दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये चैनपुर नगरपालिका–१ मैदाने निवासी वीरबहादुर लिम्बुको पहिचान खुलेको छ। अर्का मृतकको नामथर भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुवै मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुर पठाइएको छ।

दुर्घटनामा घाइते भएका भीमबहादुर थक्लुङलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।