
रसुवा। रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल वेत्रावतीमा आज ११ हल गोरुबीच घम्साघम्सी भएको छ।
प्रत्येक वर्ष मकर संक्रान्तिको दिन वेत्रावतीमा गोरु जुधाउने परम्परा रहँदै आएको छ। यस वर्ष पनि मकर संक्रान्तिको अवसरमा २२ जना कृषकले आफ्ना गोरु प्रतियोगिताका लागि वेत्रावतीमा ल्याएका थिए।
पछिल्ला केही वर्षयता स्थानीयवासीहरूले गोसाइकुण्ड युवा क्लबमार्फत मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्दै आएका छन् । वि.सं. १८४९ साल असोज १७ गते नेपाल–चीनबीच वेत्रावतीमा भएको सन्धिको खुसीयालीमा यहाँ गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको गोसाइकुण्ड युवा क्लबका अध्यक्ष सुभाष डंगोलले बताउनुभयो ।
स्थानीयवासीहरूले संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन्। पछिल्ला वर्षहरूमा मेलालाई थप व्यवस्थित बनाइएको छ। रसुवा र नुवाकोटका स्थानीय कृषकहरूले वर्षभरि पोषिलो आहार खुवाएर गोरु तयार पार्ने गरेका छन्।
गोरु जुधाइ मेला हाल मनोरञ्जन तथा खुसी साटासाट गर्ने थलोका रूपमा विकास हुँदै गएको छ। गोरु जुधाइ अवलोकन गर्न बिहीबार हजारौँ दर्शक वेत्रावतीमा भेला भएमेलाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन्। प्रतियोगितामा सहभागी गोरुका धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन प्रदान गर्नुका साथै सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ।