
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन्।
मकालु गाउँपालिका-२ एन्देम बस्ने ५९ वर्षीय पदम बहादुर पराजुलीलाई घर नजिकैको जङ्गलमा भालुले आक्रमण गरेको हो । पराजुली मंगलबार स्थानीय निगालिङ जङ्गलमा बाँस काट्न गएका थिए। सोही क्रममा अचानक निस्केको भालुले उनीमाथि आक्रमण गरेको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि पठाएको थियो। जिल्ला प्रहरीका निमित्त प्रमुख धनबहादुर राजवंशीका अनुसार भालुको आक्रमणबाट पराजुलीको शरीरमा गहिरो चोट लागेको छ । भालुले दाहिने हातको बुढी औंला खाएको छ। तिघ्रामा गहिरो चोट लागेको छ।
हाल उनको स्थानीय मकालु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने स्थितिमा रहेको स्वास्थ्यकर्मीले बताएका छन्। उपचारमा उनकी श्रीमती खड्ग कुमारी पराजुली संलग्न रहेकी छन्।