
काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ पात्लेगाउँमा यात्रुबाहक बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।
दुर्घटनापछि स्थानीयवासीले राजमार्ग अवरूद्ध गरेपछि सवारी आवागमन डाइभर्ट गरिएको छ। काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको यातायातको बाग्मती प्रदेश ०१-००६ ख ४८०८ नम्बरको बसले बाटो हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका नमोबुद्ध नगरपालिका-२ निवासी ८२ वर्षीय पोटबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले घटनास्थलमा बीपी राजमार्ग अवरूद्ध गरेका छन्।
अवरोधका कारण राजमार्गलाई डाइभर्ट गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी सहायक निरीक्षक राम कार्कीले जानकारी दिनुभएको छ। कार्कीका अनुसार स्थानीयसँगको वार्तापछि बीपी राजमार्गलाई हाल काभ्रेभञ्ज्याङ र भकुण्डेबेसी हुँदै डाइभर्ट गरिएको छ। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।