वीर अस्पतालसहित देशभरका ठूला अस्पतालद्वारा र्‍यापिड रेस्पोन्स टिम गठन

फाल्गुन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
वीर अस्पतालसहित देशभरका ठूला अस्पतालद्वारा र्‍यापिड रेस्पोन्स टिम गठन

काठमाडौं । फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी वीर अस्पतालसहित देशभरका ठूला अस्पतालले र्‍यापिड रेस्पोन्स टिम गठन गरेका छन् ।

निर्वाचनका कारण लामो सार्वजनिक बिदा रहेकाले आकस्मिक उपचार सेवा व्यवस्थापनका लागि टिम गठन गरिएको अस्पतालहरूले जनाएका छन् । निर्वाचनको दिन सबैजसो अस्पतालका ओपीडी सेवा बन्द रहे पनि आकस्मिक उपचार सेवा भने सञ्चालनमा रहनेछन् । 

वीर अस्पतालले निर्वाचन लक्षित गरी सम्भावित घटनाहरूबाट उत्पन्न स्वास्थ्य आपत्काल व्यवस्थापनका लागि टिम गठन गरिएको जनाएको छ । इमर्जेन्सी विभाग प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा टिम बनाइएको हो । टिममा चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मीहरू छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले निर्वाचनको बेला इमर्जेन्सी उपचार सेवालाई प्रभावकारी बनाउन टिम गठन गरेको निर्देशक जर्नादन पन्थीले जानकारी दिनुभयो । आवश्यक औषधि, उपकरण चुस्तदुरुस्त राख्न, इमर्जेन्सीबाट आपत्कालीन साइरन कल वा मोबाइलमा म्यासेज आएमा तत्काल चिकित्सक, नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले सेवा दिने अस्पतालले जनाएको छ ।

भरतपुर अस्तालले निर्वाचनको बेला हुने सार्वजनिक बिदामा ओपीडी बन्द भएपनि इमर्जेन्सी र अन्तरंग सेवाहरू पूर्ववत सञ्चालन रहने जनाएको छ । फागुन २३ गतेबाट अस्पतालका ओपीडी र प्रशासनिक सेवाहरू सञ्चालनमा आउने अस्पताल प्रशासनले सूचना जारी गरेको जनाएको छ ।

सरकारले निर्वाचनको बेला फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ । त्रिवि शिक्षण अस्पतालले यो बेला इमर्जेन्सी सेवा र अन्तरङग सेवाबाहेक अस्पतालका अन्य सेवाहरू दिवा सत्रमा बन्द हुने जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्यले सूचना जारी गरेर २०, २२ र २४ गते बिहानी सत्र मात्र सञ्चालन हुने जनाउनुभएको छ । 

निर्वाचनको दिन भने आकस्मिक बाहेकका सेवा बन्द हुने अस्पतालको सूचनामा उल्लेख छ । शिक्षण अस्पतालले बिदा स्वीकृत गराएर मात्र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिदामा बस्ने निर्देशन दिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले इमर्जेन्सी विभागका प्रमुख डा. नुरुल होदाको संयोजकत्वमा आपतकालिन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको छ । 

अस्पतालले सर्जरी, मेडिसिन, अर्थोपेडिक, डेन्टल, रेडियोलोजी र प्रयोगशाला विभागमा नियमित ड्युटीबाहेक कम्तीमा एक जना मुख्य चिकित्सक र दुई जना अन्य चिकित्सक खटाउन निर्वाचन दिन पनि खटाउन भनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.