प्रहरी प्रधान कार्यालयले सातै प्रदेशमा खटायो सात एआईजी

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरबाट ३५ जना पक्राउ
फाल्गुन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रहरी प्रधान कार्यालयले सातै प्रदेशमा खटायो सात एआईजी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन र ‘फिल्ड र केन्द्र’बीच समन्वय गर्ने गरी सात जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई सातै प्रदेशमा खटाएको छ । 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचन सम्पन्न भएपछि मात्रै फिर्ता हुने गरी मुख्यालयबाट एआईजीहरूलाई सातै प्रदेशमा खटाउनुभएको हो । खटिएका सबै एआईजी अहिले फिल्डमै कार्यरत रहेको प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिनुभयो । 

काफ्लेका अनुसार कोशी प्रदेशमा एआईजी राजन अधिकारी, मधेसमा डम्बर बिक, बागमतीमा सिद्धिविक्रम शाह, गण्डकीमा मनोज केसी, लुम्बिनीमा उमाप्रसाद चतुर्वेदी, कर्णालीमा सुशीलसिंह राठौर र सुदूरपश्चिममा हिमालयकुमार श्रेष्ठलाई खटाइएको हो । 

उपत्यकामा एआईजीकै दरबन्दी भएकाले यहाँको सुरक्षा कमान्ड एआईजीबाटै हुँदै आएको छ । केन्द्रबाट खटिएका एआईजीहरूले डीआईजी र त्यसमुनिका सबै युनिटहरूसँग आवश्यक समन्वय, सुरक्षा कार्ययोजना प्रभावकारी बनाउन निर्देशन, कमीकमजोरी देखिए थप रणनीति बनाएर त्यहीअनुसार परिचालन व्यवस्थापन गर्नेलगायत भूमिकासहित खटाइएको छ ।

निर्वाचन सुरक्षामा देशभर करीब ७५ हजार प्रहरी खटिएका छन् । निर्वाचन मतदानस्थल/मतदान केन्द्रको सुरक्षामा नेपाल प्रहरी र १ लाख ४९ हजार निर्वाचन प्रहरी तैनाथ भइसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार देशभरका सामान्य सुरक्षा पहिचान गरिएका मतदानस्थलमा करिब १४ हजार, संवेदनशीलमा करीब २७ हजार, अति संवेदनशीलमा करिब ३७ हजार प्रहरी र निर्वाचन प्रहरी तैनाथ छन् । 

यसबाहेक कमान्ड अपरेसनका लागि करिब १३ हजारसहित मोबाइल, रिजर्भ, अन्य सुरक्षालगायतमा पनि ठूलो संख्यामा प्रहरी र निर्वाचन प्रहरी तैनाथ भइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.