
विराटनगर । मुलुकमा औद्योगिकरणको विजारोपण गर्ने विराटनगरबाट पछिल्ला वर्षहरूमा औद्योगिक र आर्थिक गतिविधि अन्यत्र सर्दै गएको छ ।
आर्थिक राजधानीको साख गुमाउँदै गएको विराटनगरमा यो निर्वाचनबाट पुरानो साख फर्काउनेमा उद्योगी व्यवसायी आशावादी छन् । विक्रम सम्वत १९९३ सालमा विराटनगरमा विराटनगर जुट मिलको स्थापना भएपछि मुलुकमा औद्यागिकरणको श्रीगणेश भएको थियो ।
मुलुकलाई औद्योगिकरणको गोरेटोमा डोर्याउने विराटनगरमा पछिल्लो समय आर्थिक गतिविधि घट्दै गएको छ । यहाँका उद्योगीहरू अन्यत्र स्थानान्तरण हुन थालेका छन् भने यहाँको व्यापार पनि अन्य नयाँ सहरमा सर्दै गएको छ । जेन-जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटलगायतका व्यावसायिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएपछि लगानीको सुरक्षाप्रति उद्योगी व्यवसायी आश्वस्त हुन सकेका छैनन् भने पर्यटन क्षेत्र पनि धरमराएको छ ।
मुलुकको विषम परिस्थितिमा फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ । अधिकांश प्रमुख दलहरूले सार्वजनिक गरेको घोषणा पत्रमा आर्थिक क्षेत्रका राम्रा विषय समेटिएको भन्दै उद्योगी व्यवसायीले यो निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन् ।
आर्थिक विकास र स्थायित्वको अभावमा राजनीतिक उपलब्धी जोगाउन नसकिने कुरा विगतले पुष्टि गरी सकेको सन्दर्भमा आर्थिक विकास र यसको स्थायित्वका लागि मतदाताले सुझाबुझपूर्ण तरिकाले मतदान गर्नु आवश्यक छ ।