रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फाल्गुन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।

आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज गरेको हो । साहविरूद्ध जिल्ला निर्वाचन कार्यालयमा कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार रहेको भन्दै प्रमाणसहित उजुरी परेको थियो । उजुरीमाथि कार्यालयले छानबिन गर्दा साहको कमल कन्ट्रक्सन कालोसूचीमा रहेको प्रमाणित भएकाले जिल्ला निर्वाचन कार्यालयले आयोगमा कारबाहीका लागि पत्राचार गरेको थियो । 

त्यसमाथि आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । यसैबीच निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरबाट ३५ जना पक्राउ परेका छन् । निर्वाचनविरोधी गतिविधि र सामाजिक सञ्जाल दुरुपयोग गरी अफवाह फैलाएको आरोपमा प्रहरीले उनीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार निर्वाचन र नियमित शान्तिसुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी गतिविधि गर्ने र एआईको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, झुटा प्रचारप्रसार गर्नेलगायत कसुरमा उनीहरू पक्राउ परेको प्रवक्ता काफ्लेको भनाइ छ । 

प्रहरीले निर्वाचन सुरक्षालाई खलल पुर्याउने गरी सामाजिक सञ्जाल दुरुपयोग गर्नेविरूद्ध निगरानी र नियन्त्रण गर्न साइबर ब्युरो र देशभरका प्रहरी कार्यालयबाट विशेष संयन्त्र परिचालन गरेको छ । निर्वाचन आयोग, प्रहरीकै केन्द्रीय निर्वाचन सेल, जिल्ला निर्वाचन सेलमार्फत यो संयन्त्र देशभर सक्रिय बनाइएको छ । 

योसहित समग्र शान्तिसुरक्षा व्यवस्थापनका लागि प्रहरीले निर्वाचन सूचना व्यवस्थापन प्रणाली-इआईएमएस, भौगोलिक सूचना प्रणाली-जीआईएसलगायत प्रणालीको पनि विकास गरी निर्वाचन व्यवस्थापन तथा सुरक्षामा संयन्त्र तैनाथ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयमै गत साता एआई युनिट गठन गरी कार्यान्वयनमा ल्याइएको छ । यो युनिटले एआईको दुरुपयोगबाट हुने कसुरको निगरानी र जाँच गरी दोषी देखिए संलग्नलाई कारबाहीका लागि सम्बद्ध अनुसन्धान युनिटलाई पठाउँछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.