
विराटनगर । मोरङको लेटाङ नगरपालिका दुई स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्याको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी अंशु हत्याको आरोपमा पक्राउ परेका ५९ वर्षीय पदमबहादुर अधिकारीलाई सार्वजनिक गरेको हो । मोरङ प्रहरी प्रमुख कवित कटुवालले अधिकारीले हत्या स्वीकार गरेको जानकारी दिनुभयो । आरोपीले जबरजस्ती करणीपछि हत्या गरेको स्वीकार गरेको उहाँले बताउनुभयो ।
अधिकारीमाथि प्रहरीले सुरूमै शंका गरेको थियो । सोधपुछपछि कागज गरेर छुटेका उनी काम गर्न भन्दै भागेर भारतको मेघालय पुगेका थिए । प्रहरीले बोलाएपछि उनी फर्किएका थिए । पक्राउ परेका अधिकारमाथि प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान गर्ने जनाएको छ ।
गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशुको कात्तिक सात गते बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा शव फेला परेको थियो ।