ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

मंसिर २१, २०८२ |रासस
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक निर्माणाधीन रेष्टुरेन्टमा आगलागी भएको छ । 

काठमाडौं महानगरपालिका-२६ ठमेल बुधबारे गल्लीस्थित निर्माणाधीन ‘वर्क इट पप’ रेष्टुरेन्टमा आइतबार बिहान १०ः३० बजे आगलागी भएको प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्युत् सर्ट भएर लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उहाँले जानकारी दिनुभयो ।

अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको वृत्त प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट के-कति क्षति भयो भन्नेबारेमा प्रहरीले विवरण सङ्कलन गरिरहेको छ ।