काभ्रेमा पाँच वर्षमा १४५ लैङ्गिक र घरेलु हिंसा, जबर्जस्ती करणी उघोग शून्य

मंसिर ९, २०८२ |पुजन धिताल
काभ्रेमा पाँच वर्षमा १४५ लैङ्गिक र घरेलु हिंसा, जबर्जस्ती करणी उघोग शून्य

काभ्रे । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान-२०८२ अन्तर्गत काभ्रेमा आयोजित सचेतना कार्यक्रममा जिल्लाभर पछिल्लो पाँच वर्षमा दर्ता भएका महिला तथा बालबालिकासम्बन्धी मुद्दाका विस्तृत तथ्यांक सार्वजनिक गरिएको छ। 

सार्वजनिक तथ्यांकले जिल्लामा घरेलु तथा लैङ्गिक हिंसाका घटना लगातार बढ्दो देखिए पनि जबर्जस्ती करणी उधोगमा शीर्षकमा भने पाँच वर्षैभर एक पनि मुद्दा दर्ता नभएको उल्लेख गरिएको छ। प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जबरजस्ती करणी प्रयास र जबरजस्ती करणी शीर्षकअन्तर्गत २०७८/७९ मा २९, २०७९/८० मा ३७, २०८०/८१ मा ४९, २०८१/८२ मा २६ र २०८२/८३ कात्तिक मसान्तसम्म ४ गरी पाँच वर्षमा कुल १४५ घटना दर्ता भएका छन।

त्यसैगरी, बहुविवाह शीर्षकमा २०८०/८१ मा पाँच मुद्दा दर्ता भएका छन् भने बाँकी वर्षमा कुनै घटना भएको छैन। मानव बेचबिखन २०८२/८३ मा ४ घटना दर्ता भए पनि २०७८/७९ देखि २०८१/८२ सम्म शून्य देखिन्छ। बालविवाह शीर्षकमा २०८०/८१ मा २ मुद्दा दर्ता भएका छन्।

बालबालिका दुरूपयोग पछिल्ला वर्षहरूमा निरन्तर देखिने अपराधका रूपमा प्रस्तुत भयो। यसमा २०७८/७९ मा १, २०७९/८० मा ९, २०८०/८१ मा १३, २०८१/८२ मा ७ र २०८२/८३ कात्तिक मसान्तसम्म ८ मुद्दा दर्ता भएका छन्। सचेतना कार्यक्रममा योजना शाखा प्रमुख पूजा काफ्लेले काभ्रे जिल्लामा दर्ता भएका मुद्दाहरूका असर, चुनौती र आगामी रणनीतिबारे विस्तृत प्रस्तुति दिनुभयो। 

उहाँले लैङ्गिक हिंसा र बालअधिकारसम्बन्धी मुद्दाहरूबारे समुदायस्तरमै थप सचेतना आवश्यक रहेको बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत मोहनप्रसाद मरासिनीले हिंसा न्यूनीकरणका लागि मानसिकता परिवर्तन अत्यावश्यक रहेको बताउनुभयो।

“पहिले मानिस स्वयं ‘म हिंसा गर्दिन’ भन्ने सोच बनाउनुपर्छ,” मरासिनीले भन्नुभयो। आर्थिक विचलन, पारिवारिक अस्थिरता र सामाजिक विकृतिका कारण लैङ्गिक हिंसा बढ्दो दिशामा देखिएको उल्लेख गर्दै उहाँले केही वास्तविक उदाहरण प्रस्तुत गर्नुभयो।

मरासिनीले थप्नुभयो, “हिंसा अन्त्यका लागि नगरपालिकाले वर्षौंदेखि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आगामी दिनमा अझ प्रभावकारी र समुदायमुखी कार्यक्रम निरन्तर अघि बढाइनेछ।” सरोकारवालाहरूका अनुसार सरकार, स्थानीय तह, समुदाय र सुरक्षा निकायबीच बलियो सहकार्य हुन सके मात्र लैङ्गिक हिंसा नियन्त्रणमा दीर्घकालीन परिणाम देखिनेछ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।