
काभ्रे । सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले रौतहटमा दुई थान अटोमेटिक पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो चन्द्रपुर नगरपालिका-४ चन्द्रपुरस्थित देउराली चोकबाट उक्त युवकलाई रोकेर चेकजाँच गर्दा हतियार भेटिएको प्रहरीको भनाइ छ। सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-६ स्थायी घर भई हाल मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्य रहेका छन्। टोलीले उनलाई दुई थान पेस्तोलसहित नियन्त्रणमा लिएको थियो।
उनको साथबाट बेरेटा मेड इन इटाली र सीएफ ९८–९–९००१६९०८२३६० लेखिएको दुई थान अटोमेटिक पेस्तोल, सोका दुई म्याग्जिन, १३ राउन्ड गोली तथा एक थान खुकुरी बरामद गरिएको डिएसपी थापाले जानकारी दिनुभयाे। थप कारबाहीका लागि आचार्यलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरमा बुझाउने प्रक्रिया अघि बढाइिएको प्रहरीको भनाइ छ।