
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जारी विवाद तत्काललाई शान्त भएको छ ।
दीनानाथ चौधरीले गाउँपालिका अध्यक्षको हैसियतमा कामकाज गर्न पाउँ भनी हालेको रिटमा उच्च अदालत जनकपुरको राजविराज इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अध्यक्ष पदबाट राजीनामा दिनुभएका चौधरीले आफू नै उक्त पदमा काम गर्न पाउँ भन्दै हालेटको रिटमा न्यायाधीशद्वय उज्ज्वल शुक्ल र अच्युतमकुमार आचार्यको संयुक्त इजलासले अस्वीकृत गरिदिएको हो।
चौधरीले सनाखतविनाको किर्ते दस्तखत बनाएर आफ्नो राजीनामा स्वीकृत गरिएपछि अनिश्चिततामा परेको भन्दै, आफूलाई नियमित कामकाज गर्न दिन र उपाध्यक्ष कल्पनाकुमारी चौधरीलाई काममा रोक लगाउनु मागसहित परमादेश माग्दै अदालत जानुभएको थियो । तर अदालतले संविधानको धारा २ सय १५ को उपधारा ८ अनुसार अन्तिम सुनुवाइमै निरूपण हुनुपर्ने प्रकृतिको मुद्दा भएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
अदालतको यो आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म गाउँपालिकाको सम्पूर्ण कामकाज उपाध्यक्ष कल्पनाकुमारी चौधरीले कार्यवाहक अध्यक्षका रूपमा सञ्चालन गर्ने हुनेभएको छ ।