कर्णाली प्रदेश सभाको अधिवेशन अस्थायी हलबाट सञ्चालन हुने

चैत्र ३, २०८२ |देव राना|कमल पन्त
कर्णाली प्रदेश सभाको अधिवेशन अस्थायी हलबाट सञ्चालन हुने

सुर्खेत । कर्णाली प्रदेश सभाको नियमित बैठकहरू अब प्रदेशसभा सचिवालयमा निर्माण गरिएको अस्थायी हलबाट सञ्चालन हुने भएको छ । 

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा बैठक कक्ष ध्वस्त भएपछि प्रदेशसभाको नियमित बैठकहरू वीरेन्द्रनगर ४ मा रहेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको हलबाट सञ्चालन गरिएको थियो । प्रदेशसभा सचिवालय भन्दा बाहिर बैठक सञ्चालन गर्दा पूर्वाधारको अभाव र सुरक्षा चुनौती हुने भएपछि प्रदेशसभा सचिवालयले आफ्नै प्राग‌ंणमा अस्थायी हल तयार पारेको हो । तर, स्थायी हल बनाउन भने टुंगो लागेको छैन ।

यो कर्णाली प्रदेशसभाको बैठक सञ्चालनका लागि तयार पारिएको अस्थायी हल हो । अबदेखि यही हलबाट प्रदेशसभाका नियमित बैठकहरू सञ्चालन तयारी छ । हलको अगाडिबाट सभामुख नन्दा गुरुङ बैठक सञ्चालन गर्नु हुने छ । दाँयातिर सत्तापक्ष र बाँयाँतिर प्रतिपक्ष दलका सदस्यहरू बस्नु हुने छ । 

हलको सबैभन्दा पछाडि दर्शक बस्ने व्यवस्था छ । जेन-जी आन्दोलनमा प्रदेशसभाको स्थायी बैठक कक्षमा आगजनी र तोडफोड भएपछि केही बैठकहरू कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको हलबाट सञ्चालन गर्नु परेको थियो । तर, आउादो चैत्र ५ गतेदेखि भने प्रदेशसभाका बैठकहरू नवनिर्मित अस्थायी हलबाट नै सञ्चालन हुने छन् ।

प्रदेशसभा सचिवालय भन्दा बाहिर बैठक सञ्चालन गर्दा सुरक्षा चुनौती र आवश्यक पूर्वाधारको अभाव हुने भएपछि प्रदेशसभाले आफ्नै प्रागंनमा अस्थायी बैठक कक्ष निर्माण गरेको हो । स्थायी बैठक कक्ष नबन्दासम्म प्रयोग गर्न मिल्नेगरी कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास निर्देशनालयले झन्डै १३ लाख रकम खर्च गरेर अस्थायी हल निर्माण गरिएको हो ।

यस अघि प्रदेशसभाका केही बैठकहरू सञ्चालन गरिएको पशुपन्छीको हलमा दल र पदाधिकारीका बैठक कक्षहरू थिएनन । जसले गर्दा कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले प्रदेशसभा सचिवालयमै सबै कार्यसूची तयार पारेर पशुपन्छीको हलमा जानुपर्ने बाध्यता थियो । आफ्नै प्रागंनमा बैठक सञ्चालन हुँदा पूर्वाधार, सुरक्षा व्यवस्थापनसँगै प्रदेशसभा सदस्यहरूलाई पनि आउजाउ गर्ने समेत सहज हुने छ ।

जेन्जी आन्दोलन भएको ६ महिना बितिसक्दा पनि प्रदेशसभाको स्थायी बैठक कक्ष निर्माण भने अझै टुंगो लाग्न सकेको छैन । आगलागी र तोडफोड बैठक कक्ष रहेको उक्त भवन पुनः प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेर अध्ययन सकिएको छैन ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले भने सरकार र संसदले स्थायी भवन बनाउन चासो नै नदिएको आरोप लगाउछ । हिउँदे अधिवेशनलाई अधिवेशन अधिवेशनका रूपमा समेत हेर्ने गरिन्छ । तर, यो अधिवेशनलाई प्रयाप्त विजनेस दिनका लागि भने प्रदेशसभामा भने पर्याप्त विधेयकहरू छैनन् ।

जेन-जी आन्दोलनमा प्रदेश सभाको बैठक कक्ष, सभामुख, उपसभामुख लगायतका पदाधिकारीहरू, विभिन्न विषयगत समितिहरू, सबै राजनीतिक दलका बैठक कक्षहरू र कर्मचारीको कार्यकक्षमा समेत आगजनी र तोडफोड हुँदा झन्डै चार करोड बराबर क्षति भएको थियो ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।

Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।