
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नव जनजागृति युवा क्लबले आफ्नो पहिलो जित हात पारेको छ ।
जागृतिले प्रतियोगितामा जितविहीन काँक्रेविहार क्लबलाई २-१ ले पराजित गर्यो । प्रतियोगितामा जितविहीन रहेका दुवै टोलीलाई यो खेलबाट पहिलो जित निकाल्ने अवसर थियो । पहिलो हाफको ३६औं मिनेटमा चिना लामामार्फत जागृतिले अग्रता बनायो । पहिलो हाफमा १-० ले पछि परेको काँक्रेविहारले दोस्रो हाफमा पुनरागमनको प्रयास गरेको थियो ।
६९औं मिनेटमा सुनिल लामाको क्रसमा दिपेन्द्र चुनाराको हेडर विफल हुँदा काँक्रेविहारले बराबरी गर्ने मौका गुमायो । त्यस्तै ८०औं मिनेटमा विक्रम थोकरको प्रहार काँक्रेविहारका गोलरक्षक पतिक सुनारले बिफल पारे । ८७औं मिनेटमा पसमिर खत्रीको क्रसमा सोनम आचार्यले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, इन्जुरी समयमा सम्हालिन नसक्दा काँक्रेविहारले हार व्यहोर्यो ।
इन्जुरी समयमा सन्दिप कार्कीको फ्रि-किक क्रस बारमा लाग्दै रिबाउन्डमा फर्कँदा उदितनारायण चौधरीले गोल गर्दै जागृतिको पहिलो जित सुनिश्चित गरे । काँक्रेविहारलाई हराउँदै नव जनजागृतिले जितको खाता खोलेको छ । यता, ११ खेल खेलिसक्दा समेत काँक्रेविहारले जित निकाल्न सकेको छैन ।