जय ट्रफी कप : फाइनलमा त्रिभुवन आर्मी र पुलिसबीचको प्रतिस्पर्धा जारी

त्रिभुवनले दिएको २ सय २२ रनको लक्ष्य पछ्याउँदै पुलिस
चैत्र ३, २०८२ |खेल ब्युरो
जय ट्रफी कप : फाइनलमा त्रिभुवन आर्मी र पुलिसबीचको प्रतिस्पर्धा जारी

काठमाडौं । दोस्रो संस्करणको जय ट्रफी एलिट कप क्रिकेटको फाइनल मंगलबार मुलपानी क्रिकेट मैदानमा सुरू भएको छ। 

पहिलो इनिङमा त्रिभुवन आर्मी क्लब २ सय २१ रनमा अलआउट भएपछि पुलिसले ब्याटिङ सुरू गरेको छ। पुलिसले टस जितेर पहिले फिल्डिङ गर्ने भएपछि ब्याटिङमा सम्हालिएर प्रदर्शन गर्दै ५८ ओभर दुई बलमा २ सय २१ रन बनाएको थियो। पहिलो दिनमा आर्मीका तृतराज दासले ३२ र इमरान शेखले ५० रनको योगदान दिए। 

ललित राजंवंशीले तृतराजलाई एलबिडब्ल्यु धरापमा पारे। तेस्रो नम्बरमा भीम सार्कीले ३९ रन जोडेका थिए। तीन विकेट गुमाउँदा नै आर्मीले एक सय १९ रन बनाएर उत्कृष्ट सुरुवात गरेको थियो। जहाँ इमरानले एक सय ३७ बलमा अर्धशतक प्रहार गरेका थिए। 

करण केसीबाट कट एन्ड बोल्ड भएका बसिर अहमदले ३० रन जोडे भने कुशल मल्लले ४८ बलमा ३८ रनको योगदान गरे। तर, अन्तिममा नरेन साउँद, पवन कार्की र शाहब आलमलाई राशिद खानले शून्यमा आउट गरे। १७ रन बनाएका सोमपाललाई पनि राशिदले नै पवेलियन फर्काएका थिए। 

उनले चार विकेट लिँदा ललित र करणले ३-३ विकेट बाँडे। पहिलो दिन नै ब्याटिङको मौका पाएको पुलिसका ओपनर अमित श्रेष्ठ एक, कुशल भुर्तेल १८ र दिलसाद अली एक रनमा नै बाहिरिए। पुलिसले ७ ओभर एक बलमा ३६ रन बनाउँदा पहिलो दिनको खेल समाप्त भएको छ। दोस्रो दिनको खेल बुधबार बिहान नौ बजे सुरु हुनेछ।