
जनकपुर । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा सामाचकेवा पर्व बुधबार समापन हुँदैछ ।
दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व मंगलबार ११औँ दिनमा समापन हुन लागेको हो । कात्तिक शुक्ल पञ्चमी छठ पर्वको खर्नाको रातिदेखि सुरू हुने यो पर्व कात्तिक पूर्णिमाका राति समापन गरिने परम्परा छ ।
द्वापरयुगका श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रवातको अमर प्रेमको सम्झनामा यो पर्व मनाउन थालिएको हो । सामा र चक्रवातलाई श्रीकृष्णले स्वच्छन्द प्रवृत्तिका भए भन्दै चरा योनीमा जाने श्राप दिनुभएको किम्वदन्ती छ । पिताका श्रापले चरा योनीमा पुगेका सामा र चकेवालाई श्रापमुक्त गराउन सामाका दाजु साम्बले श्रीशिवको कठोर तपस्या गरेर पितालाई रिझाइ सामा र चकेवालाई श्रापमुक्त गराउन सक्ने वरदान पाएका थिए ।
उक्त वरदानले सामा र चकेवा श्रापमुक्त भई पूर्वयोनीमा आई विवाह गरी घरजम गर्न पाएका कथा नै पर्वको परम्परा बनेको संस्कृतिका जानकार बताउँछन् । बहिनी सामाप्रति साम्बले देखाएका उदारताको कदर गर्दै मिथिलामा दिदीबहिनीले साम्बजस्तै समर्पित हुने दाजुभाइ हुन भन्ने विश्वासमा पर्वका गीतलाई भावमार्फत व्यक्त गर्छन् ।
पर्वमा सामा, चकेवा, चुगला, वृन्दावनसहितका कथासँग जोडिने आकृतिका माटाको प्रतिमा बनाएर रातमा दाजुभाइको सौर्य बखान गर्दै गीत गाईन्छ । यो पर्व थारूलगायत मिथिलाका अन्य समुदायका दिदीबहिनीले पनि उल्लासका साथ मनाउँदै आएका छन् ।
दाजुभाइ दिदीबहिनीबीच प्रेम र सद्भावको प्रतीक मानिने सामाचकेवा पर्वमा दिदीबहिनीले पछिल्ला १० दिनभरी रातिको भोजनपछि बस्तीका चौबाटो र सार्वजनिक स्थलमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य बखान गर्दै सामूहिकरूपमा सामा चकेवा खेल्ने गर्छन् । कार्तिक पूर्णिमाका दिन माटो मुछेर बनाइएका चुगला, वृन्दावन, सप्तर्षिसहितका आकृति दाजुभाइले घुँडामा राखेर फुटाएपछि दिदीबहिनीले जोतेको खेतमा ती टुक्रा विसर्जन गरेपछि यो पर्व समापन हुन्छ ।
पर्व मनाउन विवाहित कतिपय दिदीबहिनी माइत जान्छन् । कतिपयले भने आफ्नै घरमा दाजुभाइ बोलाउँछन् । अविवाहित दिदीबहिनीले भने दाजुभाइसँगै आफ्ना घरमा पर्व मनाउँछन् । पर्व समापनमा दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न भोजन गराउँछन् भने दाजुभाइले दिदीबहिनीलाई वस्त्र आभूषण र गच्छेअनुसार दक्षिणा दिन्छन् । यो पर्वले दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र सद्भाव प्रगाढ बनाउने विश्वास छ ।