आपराधिक लाभ कसुरमा संलग्न ६ जना पक्राउ

कार्तिक १७, २०८२ |दीपेन्द्र शाक्य
आपराधिक लाभ कसुरमा संलग्न ६ जना पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुरमा आपराधिक लाभ कसुरमा संलग्न रहेको आरोपमा ६ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेकाहरूमा प्युठान घर भई हाल चैनपुर बसोबास गर्ने ३० वर्षीय केबि पुन मगर चैनपुर नगरपालिका-७ का २५ वर्षीय लब आलेमगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु भन्ने यमसिख यसमाली मगर, २५ वर्षीय प्रदिप समाल मगर र २९ वर्षीय ऐम बिरेन यसमाली मगर रहेका छन्।

इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार कात्तिक १२ गते राति करिब १० बजे सुनसरी गढी गाउँपालिका-५ घर भई हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीलाई ती व्यक्तिहरूले मोटरसाइकल रोकेर कुटपिट गर्दै चाबी खोसेका थिए। त्यसपछि चौधरीलाई जबरजस्ती पदमबहादुर यसमाली मगरको घरमा लगेर सिसाको बोतल फुटाउँदै मारिदिने धम्की दिँदै जबरजस्ती भिडियो खिचिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार भिडियो मिडियामा हालिदिने धम्की दिँदै चौधरीबाट ८१ हजार १ सय ४५ रूपैयाँ जबरजस्ती असुल गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट सबै अभियुक्तलाई नियन्त्रणमा लिएर ३८ हजार ४ सय ७० रुपैयाँ नगद समेत बरामद गरेको उहाँले बताउनुभयाे । प्रहरीले पक्राउ परेकामाथि आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।