चौरीदेउरालीमा सुख्खा पहिरो खसेर सुनकोशी केही समय थुनियो, सचेत रहन अपील

कार्तिक १७, २०८२ |पुजन धिताल
चौरीदेउरालीमा सुख्खा पहिरो खसेर सुनकोशी केही समय थुनियो, सचेत रहन अपील

काभ्रे, कोसीपारी । काभ्रे जिल्लाको कोसीपारीस्थित चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ मा साेमबार बिहान सुख्खा पहिरो खसेर सुनकोशी नदी केही समयका लागि थुनिएको छ। 

अचानक खसेको पहिरोले नदीको बहाव अवरूद्ध हुँदा केही समयका लागि आसपासका बस्तीमा त्रास फैलिएको थियो। स्थानीयका अनुसार बिहान करिब ७ बजेतिर ठूलो आवाजसँगै माटो र ढुंगामाटो खस्दा सुनकोशीको बहाव रोकिएको थियो। नदी थुनिएर पानी बढ्न थालेपछि स्थानीय बासिन्दा सतर्क रहँदै सुरक्षित स्थानमा सरेका थिए।

तर केही समयपछि नदीले माटो विस्तारै बगाउँदै आफ्नो प्राकृतिक बहाव पुनः फोडेको छ। अहिले सुनकोशी नदी सामान्य रूपमा बगिरहेको छ। गाउँपालिका अध्यक्ष रेणु चौलागाईंका अनुसार अहिले स्थिति नियन्त्रणमा भए पनि माटो अझै खसिरहेको र भू–भाग अस्थिर भएकाले जोखिम कायम छ। 

उहाँले भन्नुभयाे, “सुनकोशी अहिले सामान्य बगिरहेको छ, तर पहिरो नजिकका बासिन्दालाई घरमा नबस्न र सावधानी अपनाउन अनुरोध गरिएको छ।” गाउँपालिकाले प्रहरी र स्थानीय स्वयंसेवकहरूलाई जोखिम क्षेत्र वरपर निगरानीका लागि परिचालन गरेको छ। हालसम्म कुनै जनधनको क्षति भएको रिपोर्ट प्राप्त भएको छैन।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।