
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठ र पूर्वगृहमन्त्री सुधन गुरुङ जोडिएको एउटा विवादित अडियो सार्वजनिक भएपछि पत्रकार श्रेष्ठले उक्त आरोपको खण्डन गर्नुभएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले समेत यस विषयमा आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। 'युथ अफ वीरगन्ज' नामक फेसबुक पेजबाट सार्वजनिक भएको उक्त अडियोमा पत्रकार श्रेष्ठले रकम लिएर गुरुङविरुद्ध समाचार लेखेको दाबी गरिएको छ ।
आइतबार बिहान १० बजेर ४१ मिनेटमा 'युथ अफ वीरगन्ज-वाइओबी' नामक फेसबुक पेजबाट सार्वजनिक यो अडियो जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठसँग एक अज्ञात व्यक्तिले गरेको कुराकानी भएको दाबी गरिएको छ। ३ मिनेट ३ सेकेन्ड लामो अंग्रेजी भाषाको संवादमा पत्रकार श्रेष्ठले १० लाख रुपैयाँ र एक बोतल मदिरा लिएर सुधन गुरुङविरुद्ध समाचार लेखेको आरोप लगाइएको छ ।
संवादमा अज्ञात व्यक्तिहरूले 'किशोर' नाम गरेका व्यक्तिको पत्रकारिताको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरेका छन् । विशेषगरी 'सुधन गुरुङ' नाम गरेका व्यक्ति आफ्नो लागि ठीक नभएको र 'खतरनाक व्यक्ति' भएको भन्दै संवादमा गुरुङको चर्चा गरिएको छ ।
साथै, 'गिफ्ट' पठाउने, पछि '१ लाख रुपैयाँ र मदिराको बोतल' पुगे/नपुगेको सोधपुछ गर्ने तथा 'सिग्नल' एपमार्फत थप समन्वय गर्न आग्रह गरिएको संवादमा सुनिन्छ । अडियोसमेत समावेश गरेर सार्वजनिक गरिएको भिडियोमा ती व्यक्तिहरुले श्रेष्ठसँग तीन पटक कलमा तथा ह्वाटस्एप र सिग्नल एपमार्फत पटक पटक च्याट भएको देखाइएको छ।
उक्त भिडियो सार्वजनिक भएपछि पत्रकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत खन्डन गर्नुभएको छ। आइतबार विभिन्न च्याटको स्क्रीनसट सार्वजनिक गर्दै पत्रकार श्रेष्ठले आफू र आफ्नो मिडियालाई बद्नाम गर्न योजनाबद्ध षड्यन्त्र गरिएको दाबी गर्नुभएको छ।
उहाँले चिनियाँ नम्बरहरूबाट पटक पटक फोन गरेर पूर्वगृहमन्त्री गुरुङविरुद्ध जनमत बनाउन खोजिएको आरोप लगाउनुभएको छ। श्रेष्ठले फेसबुकमा सार्वजनिक गर्नुभएको सीसीटीभी फुटेजमा मास्क र कालो चश्मा लगाएकी एक युवतीले गेटमा केही सामान राखेको देखिन्छ ।
यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। जनआस्थाले जेठ ९ गते शनिबार दिएको निवेदनमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । चिनियाँ नागरिकले फोन गरेर सुधन गुरुङविरुद्ध समाचार लेख्न लगाएको आरोपसहितको उक्त अडियो सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले प्रतिक्रिया जनाउँदै उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको उल्लेख गरेको छ ।
दूतावासले सम्बन्धित निकायहरूलाई यस घटनाबारे निष्पक्ष अनुसन्धान गर्न र कानुनअनुसार कारबाही गर्न पनि आग्रह गरेको छ । पत्रकार श्रेष्ठले उक्त अडियो नियोजित रूपमा 'सम्पादन' गरेर भ्रम फैलाउन खोजिएको दाबी गर्नुभएको छ ।
कान्तिपुरसँग कुराकानी गर्दै श्रेष्ठले भन्नुभएको छ- 'उसले अडियो रेकर्ड गर्यो, फिल्टर गर्यो, एडिट गर्यो र आफूलाई चाहिने कुरा मात्रै राख्यो । तर, मैले उसलाई 'यस्ता कुरा नगर' भनेर दिएको जवाफचाहिँ उसले हटायो ।' उहाँले उक्त भिडियो सार्वजनिक गर्ने 'युथ अफ वीरगन्ज' नामक पेज भारतीय हिन्दू सङ्गठन आरएसएससँग सम्बन्धित भएको पनि बताउनुभएको छ।
सुधन गुरुङ वालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभएको थियो। सम्पत्ति र विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानीको विषयमा प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते पदबाट राजिनामा दिनुभएको थियो। गत वैशाख २८ गते मन्त्रिपरिषद्को बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको नेतृत्वमा गठित समितिले सुधन गुरुङको सम्पत्ति र स्रोतमाथि अनुसन्धान गरिरहेको छ।